तपाईँ सुन्दै हुनुहुन्छः

सिंजा महोत्सवको आयोजना हुँदै

जुम्ला  । जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । 

सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र साँस्कृतिको साझा उत्सव रुपमा पहिलो पटक सिंजा महोत्सवको आयोजना हुने भएको हो । 

सिंजा सञ्चार केन्द्रको आयोजनामा सिञ्जामा पहिलो पटक १२ दिन लामो महोत्सव आयोजना हुने छ । आगामी वैशाख १० गतेदेखि २१ गतेसम्म, १२ दिनसम्म सिंजा गाउँपालिकास्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा सिंजा महोत्सव २०८२ सञ्चालन गरिने आयोजकले जनाएको छ । 

सिंजा सञ्चार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षण र भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापनमा हुने यस महोत्सवले सिञ्जाको अद्वितीय भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । 

खस भाषा, संस्कृति र सभ्यताको प्रचारप्रसार, जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा तथा ऐतिहासिक स्थलहरू कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवद्र्धनका पहिलो पटक महोत्सवको आयोजना हुन लागेको छ । 

महोत्सवमा सिञ्जाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति  परम्परागत ज्ञानको संरक्षण र प्रदर्शन गरिने छ । १२ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूद्वारा साङ्गीतिक प्रस्तुती रहने छ । विभिन्न साँस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल, मनोरञ्जनात्मक खेलहरूलगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।  

आयोजकले भनेको छ, “सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको ‘सिंजा महोत्सव २०८२’ सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्न चाहन्छ, आउनुहोस्—साझै हर्षको उत्सव मनाऔँ, सिञ्जालाई चिन्नुहोस् र चिनाऔँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button