‘निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव’

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक विकास र प्रगतिको आकाङ्क्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ लाई आज सम्बोधन गर्दै उहाँले स्रोतको अभावको बाबजुद पनि आर्थिक विकासको जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित भएको बताउनुभयो ।
“आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो”, मन्त्री राणाले भन्नुभयो । उहाँले सरकार गठनपश्चात् निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको उल्लेख गर्नुभयो ।
आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन वर्तमान सरकार अत्यन्तै संवेदनशील भएर अघि बढिरहेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले निजी क्षेत्रलाई समृद्धिको यात्रामा प्रोत्साहित गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले मुलुक राजनीतिक स्थिरतासँगै आर्थिक विकासको बाटोमा अघि बढिरहेका बेला अस्थिरताको वातावरण कसैले पनि बनाउन नहुनेमा जोड दिनुभयो ।
पछिल्लो समय वैदेशिक सहायता केही कमी भएकामा निरुत्साहित हुन जरुरी नरहेको औँल्याउँदै उहाँले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर जान सक्नुपर्ने धारणा राख्नुभयो । “यो सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ”, उहाँले भन्नुभयो, “असल शासन र निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन, तसर्थ राजनीतिक दल, कर्मचारी र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।”
सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताउनुभएको छ । उहाँले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा उहाँको जोड थियो ।
अध्यक्ष ढकालले विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र सङ्कुचन भएको उल्लेख गर्दै उहाँले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राख्नुभयो । “म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सृजना गर्न सक्दैनौँ, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो”, उहाँले भन्नुभयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका उद्यमी व्यवसायीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उच्चपदस्थ सरकारी कर्मचारी, निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाका प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्