बेपत्ताको २३ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि
बर्दिया । द्वन्द्वकालमा राज्य पक्षद्वारा बेपत्ता पारिएका ठाकुर बाबा नगरपालिका–१, भूरि गाउँका राम दाश थारुको २३ वर्षपछि कुशको शव बर्नाएर अन्त्येष्टि गरिएको छ । बुधबार शवको अन्त्येष्टि गरी थारु समुदायको परम्पराअनुसार उहाँको चैत्र २९ गते शुक्रबार मृत्युको अन्तिम संस्कार गर्ने भएको हो ।

परिवारकी सदस्य(उहाँको श्रीमती) सुगमती थारुका अनुसार आज अन्त्येष्टि, भोली शोकसभा र पर्सी शुक्रवार अन्तिम मृत्यु संस्कार गरेर चोखिने कार्यक्रम रहेको जानकारी गराउनुभएको छ । २०५८ साल चैत २६ गते नेउलापुर स्थित इलाका हुलाक कार्यालयमा कार्यरत रहँदै गर्दा उहाँलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो । सो दिनदेखि बेपत्ताको सूचीमा परेका राम दाशको परिवारले वर्षौंसम्म उहाँको खोजीमा प्रयास गरे पनि हालसम्म कुनै आधिकारिक जानकारी पाउन सकेको छैन ।
उहाँको जन्म २०२४ साल भदौ १० गते बर्दिया जिल्लाको बगनाहा गा.वि.स.–२ मा भएको थियो । बाल्यकालदेखि पढाइमा अब्बल रहेका रामदाशले एस.एल.सी. उत्तीर्ण गरी सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सेवा प्रवेश गर्नु भएको थियो । जुम्ला, रोल्पा हुँदै भूरि गाउँमा कार्यरत रहँदै गर्दा उहाँ शान्त, मिलनसार र जिम्मेवार कर्मचारीका रूपमा परिचित हुनुहुन्थ्यो ।
२०४६ सालमा सुगमती थारुसँग विवाह गरेका रामदासका एक छोरा र एक छोरी छन् । माओवादी जनयुद्धको क्रममा परिवारका सदस्यहरूमध्ये उहाँकी कान्छी बहिनी कृष्णा कुस्मा थारु (हाल लुम्बिनी प्रदेश सभा सदस्य) माओवादी पार्टीमा पूर्णकालीन रुपमा सक्रिय रहनु भएको थियो । यही राजनीतिक पृष्ठभूमिका कारण उहाँलाई माओवादी समर्थकको आरोपमा गिरफ्तार गरिएको परिवारका सदस्यहरूको भनाई छ ।

उहाँको गिरफ्तारीपश्चात् परिवारले अनेक प्रयास गरे पनि उहाँको अवस्थाबारे कुनै प्रस्ट जानकारी पाउन सकेन । उहाँका पत्नी सुगमती थारुले साना बालबालिकाको पालनपोषण मजदुरी गरेर गर्नुभयो । राज्यबाट कुनै राहत नपाएपछि परिवार आर्थिक रूपले कमजोर बन्न गयो । धेरै प्रयासपछि संचयकोषको केही रकम मात्र निकालिएको थियो । पछिल्ला वर्षमा राज्यबाट १० लाख रुपैयाँ राहत स्वरूप प्राप्त भएको परिवारले जनाएको छ ।
विगत केही वर्षदेखि परिवारको अवस्था केही सुधार भएको छ । छोरा शिक्षक पेसामा हुनुहुन्छ भने छोरी कहिलेकाहीँ सामाजिक संस्थामा संलग्न हुँदै हाल सरकारी सेवा प्रवेश गर्नु भएको छ ।
समाजले पनि रामदासलाई स्मृतिमा राखेको छ । गाउँमा जाने मुख्य बाटोमा ‘राम दाश स्मृति गेट’ निर्माण गरिएको छ भने उहाँ कार्यरत सहकारी संस्थाले एकपटक औपचारिक रूपमा सम्मानसमेत गरेको छ ।
यद्यपि अन्त्येष्टि भएको छ, पीडित परिवारले न्यायको खोजी भने छाडेको छैन । उहाँहरूले बेपत्ता नागरिकलाई राज्यले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, मृत घोषणा गर्नुपर्ने र परिवारका सदस्यको रोजगारी, शिक्षा तथा स्वास्थ्यमा राज्यले जिम्मेवारी लिनुपर्ने माग राख्नु भएको छ ।
२३ वर्षपछि गरिएको अन्त्येष्टि पीडाको अन्त्य होइन, बरु न्यायको खोजीलाई अझ मजबुत बनाउने एउटा मोड भएको पीडित परिवारकी छोरी अस्मिता कुस्मा थारुले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्