‘जनस्वास्थ्य संवाद’ रेडियो कार्यक्रम प्रसारण हुने
धनकुटा । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाले पाक्षिक रूपमा ‘जनस्वास्थ्य संवाद’ रेडियो कार्यक्रम रेडियो नेपाल धनकुटाबाट प्रसारण गर्ने भएको छ ।
पाक्षिक रूपमा प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रवार ४.१० देखि ४.४० बजेसम्म प्रसारण गर्नका लागि रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटा र प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाबिच आज सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत र रेडियो नेपाल धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै निर्देशक ज्ञान बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रलाई समुन्नत बनाएर प्रदेशका नागरिकलाई स्वस्थ जीवन यापन गर्ने लक्ष्यलाई पुरा गर्न स्वास्थ्य, सञ्चार, शिक्षा लगायत सबै साझेदार संस्थाहरू, सरोकारवालासँग समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढिरहेको उल्लेख गर्नुहुँदै आफ्ना कार्यक्रमलाई जनमुखी बनाउन र स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउन रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।
सो अवसरमा रेडियो नेपाल धनकुटाका कार्यालय प्रमुख तिल विक्रम चेम्जोङले नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नका लागि पाएको अवसरलाई व्यवहारमा उतार्न प्रभावकारी कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियो कार्यक्रम जनस्वास्थ्य संवादमा जनस्वास्थ्य नीति, स्थानीय स्वास्थ्य सेवा प्रणाली, रोगको रोकथाम, उपचार, स्वास्थ्य प्रवर्द्धनात्मक तथा सचेतनाका विषयहरूमा स्वास्थ्य विशेषज्ञहरूसँग छलफल र निर्देशनालय तथा मातहतका स्वास्थ्य कार्यालयहरूको गतिविधिहरू प्रस्तुत गरिने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्