सुदूरपश्चिममा बिसु पर्वको चहलपहल बढ्दै
डडेल्धुरा । डडेल्धुरा लगाएतका सुदूरपश्चिमका जिल्लाहरूमा बिसु पर्वको चहल पहल दिनप्रतिदिन बढ्दै गएको छ ।

नेपाली नयाँ वर्षलाई सुदूरपश्चिममा बिसु पर्वका रुपमा मनाउने परम्परा रही आएको छ ।
धार्मिक, साँस्कृतिक तथा सामाजिक एकताको रुपमा मनाइने बिसु पर्व मनाउन अहिले देश तथा विदेशबाट समेत सुदूरपश्चिमेलीहरु आफ्नो जन्मभूमि तिर फर्किरहेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ४ का स्थानीय एनडी बिष्टले बिसु मनाउन तीन, चार दिन लगाएर चेन्नेईवाट यहाँ आइपुगेको बताउनुभयो । देशका विभिन्न क्षेत्रमा काम गर्ने तथा पढाइका लागि गएका हरू समेत अहिले घर फर्किरहेका छन् ।
उग्रतारा डडेल्धुरा यातायात प्रालीका कर्मचारी तेज बहादुर ऐरले बिसुका लागि घर फर्किनेहरू अहिले बढिरहेको बताउनुभयो । कुनै बेला बुढापाकाहरू मात्र देखिने गाउँघरहरूमा अहिले चाडबाडको समयमा युवाहरू पनि देखिन थालेका छन् ।
यो समयमा प्राय घरको लिपपोत गर्ने कार्य सहित सरसफाई गरिने परम्परा रहेको छ । स्थानीय संस्कृतिका जानकार कृष्ण देव भट्टले घरको सरसफाई गर्ने, नुहाउने सफा सुग्घर बन्ने र यसबाट बिस पखालिने भएकाले यस पर्वलाई बिसु भनिँदै आएको बताउनुभयो, उहाँले वैशाख १ गतेका दिन देवर भाउजू,नन्द भाउजु, साली भिनाजुहरूले पनि एक आपसमा सिस्नो लगाउने र सिस्नो लगाउँदा शरीरमा भएको बिस मर्ने जनविश्वास रहेको पनि जानकारी दिनुभयो ।
सुदूरपश्चिमका पहाडी भेगहरूमा रहेका परम्परागत घरहरू पोत्न अहिले रातो माटो तथा कमेरो खोज्दै पोत्ने काम भइरहेको छ । यो समयमा विशेष गरि सुदूरपश्चिममा सेल,माणा, कोसेली, गतानी डुव्का,मासका डुव्का, निसौसे आदी परिकारहरू पकाइन्छ । विभिन्न ईस्टकुल देवताहरूको पनि यो समयमा पूजाआजा गरिने परम्परा रहेकाले पनि यति वेला पूजाआजाका लागि समेत आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्