झापामा पचास हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा
झापा । झापा जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् ।
मेचीनगर नगरपालिकाको सभाहलमा आइतबार आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिनुभएको हो ।

अध्यक्ष रिजालले प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताउनुभयो । उहाँले वर्तमान भूमि आयोग पहिलेका तीनवटा आयोगभन्दा फरक रहेको दाबी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताउनुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईँले अबको दुई वर्षभित्र नेपालका १३ लाख सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने बताउनुभयो । कार्यक्रममा भूमि आयोगका झापा अध्यक्ष मदन अधिकारीले बिचौलियासँग सहकार्य नगरी पालिकामार्फत प्रक्रिया पूरा गरेर आएका निवेदनहरूलाई दर्ता गरी चाँडै धनीपूर्जा वितरण गरिने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा जगतबहादुर बस्नेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आयोगको काम, कर्तव्य र अधिकारसहित भावी कार्य योजनाका बारेमा जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वास्तविक हकदारलाई जग्गाको धनीपूर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्