तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको हीरक महोत्सव : अन्तरक्रिया र शास्त्रीय सङ्गीत सम्मेलन

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव (हीरक महोत्सव) का अवसरमा आज सिंहदरबारमा साङ्गीतिक क्षेत्रका कलाकारहरूसँग अन्तरक्रिया गरेको छ । 

अन्तरक्रियामा कलाकारहरूले सार्वजनिक सेवा प्रसारणका रुपमा रेडियो नेपालले गीत–सङ्गीतको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । 

सूचना, सञ्चार, साहित्य र सङ्गीतको विकासमा रेडियो नेपालले स्थापना काल देखि नै महत्वपूर्ण भूमिका खेल्दै आएकोले कलाकारहरूले यसको संरक्षणमा आगामी दिनमा अझै थप काम गर्नुपर्ने बताउनुभयो । 

यस्तै कलाकारहरूले लोपोन्मुख गीत सङ्गीतको सङ्कलन र संरक्षणमा जोड दिनुपर्ने, गीत रेकर्डिङलाई नियमित बनाउनुपर्ने, जन सहभागिता मूलक तथा प्रतियोगितात्मक कार्यक्रमहरूलाई बढाउनुपर्ने, रेडियो नेपालमा रेकर्ड तथा उत्पादन भएका सिर्जनाको स्वामित्व रेडियो नेपालसँगै रहनुपर्ने सुझाव दिनुभयो । 

अन्तरक्रियामा लोचन भट्टराई, नारायण रायमाझी, भूपेन्द्र रायमाझी, बुलु मुकारुङ, मिरा राणा, धनबहादुर गोपाली, प्रा डा ध्रुवेशचन्द्र रेग्मी लगायतले शास्त्रीय सङ्गीत सम्पूर्ण सङ्गीतको मूल आधार भएकाले शास्त्रीय सङ्गीतसम्बन्धी कार्यक्रम बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारणको नयाँ संरचनामा रेडियो नेपालको थप उन्नति हुने विश्वास व्यक्त गर्नुहुँदै जनताको मनमा बस्न सक्ने प्रसार सामग्री बनाउने तर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो । 

अन्तरक्रियामा सार्वजनिक सेवा प्रसारण (पिएसबी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले गीत सङ्गीतको संरक्षण र विकासका लागि स्रष्टाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त  रहेको बताउनुभयो । 

कार्यकारी अध्यक्ष विष्टले कलाकारहरूको सुझाव र सल्लाह रेडियो नेपालका लागि सधैँ स्वागतयोग्य रहने उल्लेख गर्नुहुँदै रोयल्टीसम्बन्धी विषयमा समेत स्रष्टाहरूको सहयोगका लागि अनुरोध गर्नुभयो । 

पिएसबी सञ्चालक समितिका सदस्य फूलमान बलले मौलिक नेपाली गीत सङ्गीतको विकासमा रेडियो नेपालले जोड दिने उल्लेख गर्नुहुँदै कलाकारहरूका सुझाव तथा सल्लाह कार्यान्वयन गर्दै अगाडि बढ्ने बताउनुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले कलाकार र रेडियो नेपाल बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा परस्पर सहयोग बढाउनुपर्ने बताउनुभयो । 

यसअघि आजै केन्द्रिय कार्यालय सिंहदरबारमा शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरिएको थियो ।

शास्त्रीय सङ्गीत सम्मेलनमा विभिन्न विद्याका २४ जना कलाकार र स्रष्टाहरू सहभागी हुनुहुन्थ्यो । 

सम्मेलनमा शास्त्रीय गायनतर्फ लावोनी चक्रवर्ती, मनमोहन थपलिया र सलिना बिक, शास्त्रीय वाद्य वादनतर्फ परशुराम भण्डारी र सन्तोष भक्त श्रेष्ठ, शास्त्रीय ताल वादनतर्फ समिर डे, शास्त्रीय वादनतर्फ डाक्टर ध्रुबेशचन्द्र रेग्मी र सुरेशराज बज्राचार्यको समूह सहभागी भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button