वैशाख १७ गतेदेखि सामुदायिक विद्यालयको पठन–पाठन नियमित रुपमा सञ्चालन गर्न पोखरा महानगरको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई यही वैशाख १७ गतेदेखि नियमित रुपमा पठन पाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
नेपाल शिक्षक महासङ्घको आन्दोलनले सामुदायिक विद्यालयको पठन पाठन प्रभावित भएकाले यही वैशाख १७ गते भित्र सामुदायिक विद्यालयहरूलाई सञ्चालन गर्न महानगरले सूचना जारी गरेको हो ।
पोखरा महानगरपालिका, नगर शिक्षा समितिको यही वैशाख १४ गतेको निर्णयअनुसार वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रुपमा सञ्चालन गर्न सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरूलाई महानगरले जारी गरेको सूचना मार्फत अनुरोध समेत गरेको छ ।
शिक्षक आन्दोलनले विद्यालयमा पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य अन्यौल हुने हुँदा कक्षा सञ्चालन गर्न आफूहरूले पत्राचार गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेम प्रसाद आचार्यले बताउनु भयो । पोखरा क्षेत्रमा हाल १ सय ९८ वटा सामुदायिक विद्यालयहरू रहेका छन् भने १ सय ७५ वटा नीजि विद्यालयहरू रहेको उहाँले जनाउनु भयो ।
नेपाल शिक्षक महासङ्घको आयोजनामा गत चैत २० गतेदेखि काठमाडौँमा शिक्षक आन्दोलन जारी रहेको छ । आन्दोलनका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ । काठमाडौँको आन्दोलनमा सहभागी शिक्षकहरू विद्यालयमा उपस्थित नहुँदा कक्षा प्रभावित भएको हो ।
प्रतिक्रिया राख्नुहोस्