लोकतन्त्रको विकल्प निरङ्कुशता हुन सक्दैन : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने तथा उनीहरू त्यसप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ । अहिले राजतन्त्रको पक्षमा आन्दोलन भइरहँदा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रश्न गर्न र जबाफदेही बनाउन सकिन्छ वा सकिँदैन भनेर सोच्न पनि उहाँले आग्रह गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अहिले २८ वर्षभन्दा कम उमेरका युवा पुस्ताले राजतन्त्रको वास्तविक अनुहार नदेखेको उल्लेख गर्दै लोकतन्त्रमा सरकार र सरकारका व्यक्तिहरूको आलोचना गर्न पाइने कुरा बताउनुभयो ।
लोकतन्त्रको मूल मर्म नै उत्तरदायी शासन व्यवस्था भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारको विरोध गर्न पाइन्छ । सरकारमा बसेकाहरूको आलोचना गर्न पाइन्छ । सरकारलाई प्रश्न गर्न पाउनुपर्छ, सरकारले जवाफ दिनुपर्छ । यही नै लोकतन्त्र हो ।”
गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प निरङ्कुशता हुन नसक्ने प्रस्ट पार्दै अहिलेका जनप्रतिनिधि र संसद्मा रहेका व्यक्तिहरूबाट भएका कमजोरी सुधार्न तयार रहेको बताउनुभयो ।
उद्योगी, व्यवसायीका घर, सञ्चारमाध्यम तथा राजनीतिक दलका कार्यालयमा आक्रमण र आगजनीको विरोध गर्दै गृहमन्त्री लेखकले यस्ता कार्य गराउनेलाई चिन्न आवश्यक रहेको बताउनुभयो । “संविधानले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार दिएको छ, तर हिंसात्मक गतिविधि स्वीकृत हुन सक्दैन”, उहाँले भन्नुभयो, “तीनकुने घटनाले उनीहरूको चरित्र उदाङ्गिएको छ ।”
गृहमन्त्री लेखकले सरकार सञ्चार क्षेत्रको सुरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतन्त्रमा सशक्त, निष्पक्ष र सुरक्षित पत्रकारिताको आवश्यकता रहेको औँल्याउनुभयो । राजावादीले आफ्नो चरित्र देखाइसकेको टिप्पणी गर्दै उहाँले नागरिकको सूचनाको हकको प्रत्याभूति गर्न सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । लोकतन्त्रमा प्रश्न सोध्न पाइने र संसद्ले सरकारलाई उत्तरदायी तथा जबाफदेही बनाउने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्