तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति एवम् पर्यटन उत्सव सुरु

नवलपरासी,पश्चिम् । बर्दघाट प्रज्ञा प्रतिष्ठान र बर्दघाट नगरपालिकाको आयोजनमा त्रिदिवसीय साहित्य संस्कृति तथा पर्यटन उत्सव एवं पर्या काव्य गोष्ठी आजबाट सुरु भएको छ ।

नगर भित्र रहेका धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन एवं प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको हो ।

गत वर्षबाटै बर्दघाट प्रज्ञा प्रतिष्ठानले यो प्रकृतिको कार्यक्रम आयोजना गर्ने सुरु गरेको हो । त्रि दिवसीय पर्यटन उत्सवमा नेपाली श्रष्टाहरुसहित मूलतः छिमेकी राष्ट्र भारतबाट साहित्यकर्मी एवम् कलाकर्मीहरूको उपस्थिति रहेको छ ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगर भित्रका सम्पदाहरूको बारेका अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै यहाँको प्रचार प्रसारमार्फत समग्र नगरलाई चिनाउन साहित्य र सिर्जनामार्फत अतुलनीय योगदान गरेको बताउनुभयो । भौतिक बिकास मात्रै नभइ साहित्य कला र सांस्कृतिक विकासले पनि समाज रूपान्तरण हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

आज सुरु गरिएको उत्सवमा सहभागी स्रष्टाहरूलाई बर्दघाट नगरपालिकामा रहेको धार्मिकस्थल त्रिनेत्रेश्वर धाम,बुद्ध मङ्गल ताल, वनदेवी मन्दिर र १ सय पर्यटकीय गन्तव्य स्थलको सूचिमा कंचनगढी क्षेत्र सँगै त्रिबेणिधाम को अवलोकन गराइनुका साथै यी स्थलहरू बारेमा जानकारी गराइएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घरश्याम न्यौपाने परिश्रमीले जानकारी दिनुभयो ।

भोलि  आइतबार बर्दघाटमै रहेको सहिद पार्क, सिमसार क्षेत्र र रामग्राम नगरपालिकामा रहेको बुद्धको एकमात्र अस्तुधातु रहेको रामग्राम स्तूपको अवलोकन गरिने र अन्तिम दिन पर्या काब्यगोष्ठी अन्तर्गत कार्यपत्र प्रस्तुतको कार्यक्रम रहने प्रतिष्ठानका सदस्य सचिव सरद पौडेलले बताउनुभयो ।

कार्यक्रममा उपस्थित भारतीय साहित्य कर्मी एवं स्रष्टाहरूले नेपाल पर्यटनका हिसाबले सुन्दर मुलुक रहेको बताउँदै यहाँका बारेमा विभिन्न लेख रचना र सृजना मार्फत प्रचार प्रसारमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल भारत बिच आपसी सद्भाव र पृथक् सम्बन्ध रहेको उल्लेख गर्दै उहाँहरूले धर्म सस्कृती र परम्परामा समेत थुप्रै समानता रहेकाले पनि नेपाल प्यारो लाग्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button