प्रेस चौतारीद्वारा आन्दोलनमा क्षति भएका सञ्चारमाध्यमको अवलोकन

काठमाडौँ । प्रेस चौतारी नेपालले शुक्रबार पूर्वराजावादीको प्रदर्शनका क्रममा क्षति भएका सञ्चारमाध्यमको अवलोकन गरेको छ ।
अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले क्षति भएका सञ्चारमाध्यम र घाइते भएका पत्रकारको अवस्थाबारे आज जानकारी लिएको हो ।

अध्यक्ष पाण्डेले राजावादीले सञ्चारमाध्यमलाई आक्रमणको निशाना बनाएकामा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदर्शनकारीको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमताकै कारण शुक्रवार ठुलो क्षति हुन नपाएको बताउनुभयो । अध्यक्ष पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।
प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिलाई स्थापित गर्न सपना देखिएको तर त्यो पूरा नहुने बताउनुभयो ।

प्रेस चौतारीले राजावादीको आक्रमणबाट क्षति बेहोरेका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट, हिमालय टिभी र घाइते भएका अनलाइन खबरका सञ्चारकर्मीलगायत आबद्ध सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा बढी क्षति पुगेको पाइएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले बताउनुभयो ।
हिजो शुक्रबार प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।




प्रतिक्रिया राख्नुहोस्