पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमण विरुद्ध डडेल्धुराका पत्रकार उत्रिए सडकमा
् डडेल्धुरा । शुक्रबार राजावादीले काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक रिपोर्टिङका क्रममा घरभित्र आगजनी हुँदा घटनास्थलमै मृत्यु भएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरूले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम र पत्रकारहरूमाथि पनि आक्रमणमा उत्रिएका थिए ।

पत्रकार र सञ्चारमाध्यममाथि राजावादीले निशाना बनाएकोमा पत्रकार महासङ्घको केन्द्रीय सर्कुलर अनुसार डडेल्धुरामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दे पत्रकारहरूले टाउकोमा कालो पट्टी बाधेर बजार परिक्रममा गर्दै भीमदत्त चोकमा बिरोध सभामा परिणत भएको थियो । महासङ्घको स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी महासङ्घले देशभर विरोधका कार्यक्रम गर्ने निर्णय लगत्तै डडेल्धुरा शाखाले प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष मानबहादुर साउँदले आन्दोलनका नाममा प्रेसमाथिको बर्बरता र रिपोर्टिङ गरिरहेका पत्रकार रजको हत्या घटनामा संलग्न दोषीउपर कानुनी कारबाहीको माग गर्नुभयो । लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित गर्दे पत्रकार र सञ्चारमाध्यम माथि आक्रमण हुनु दुखद विषय भएको भन्दै साउँदले घटनालाई अक्षम्य अपराधको संज्ञा दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य उत्तर बिष्टले आन्दोलनका नाममा राजाबादीहरुल सञ्चारमाध्यम र पत्रकारमाथिको बर्बरतापूर्ण व्यवहार लोकतन्त्रमा नसुहाउने बताउनुभयो । बिरोध सभामा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका पूर्व कोषाध्यक्ष राम धामीले पत्रकारमाथिको आक्रमणको निन्दा गर्दे दोषी उपर हदै सम्मको कारबाही हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले सञ्चालन गरेको उक्त बिरोध सभामा पत्रकारका विभिन्न संघ सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्