राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरु गरेको छ । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । वैशाख १० गतेसम्म चितवन निकुञ्जले दुई जना कर्मचारी खटाएर गुँड खोज्ने कार्य गरिएको छ । स्थानीय बोटे समुदायका व्यक्तिहरूले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन् । उनीहरूले गुँड खोजेर त्यसको रेखदेख गर्ने उहाँले बताउनुभयो । वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको उहाँ बताउनुभयो ।
गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गुँड खोजेपछि कति वटा गुणको अण्डा निकाल्ने भन्ने तय गरिनेछ ।”
निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीहरूमा छोड्ने गरिएको छ ।
यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
प्रतिक्रिया राख्नुहोस्