तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिने ‘बाँके रोजगार मेला’ सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि रोजगार मेला सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले दुई दिने बाँके रोजगार मेला आयोजना गरेको हो । मेलामा बाँकेका स्थानीय पालिकाहरूको सहकार्य र साझेदारी रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रोजगार मेलाको उद्घाटन गर्नुभयो । मेला उद्घाटन गर्दै विष्टले बेरोजगारीहरूको पहिचान र सूचीकरणमा बाँके रोजगार मेला सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले रोजगारी सिर्जना गर्दै युवा जनशक्तिको विदेश पलायन रोक्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।  

अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने बताउनुभयो । उहाँले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिने बताउनुभयो । 

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, उद्योगी प्रदीप छाछेड, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

मेलामा रोजगारदाताका ३५ वटा स्टल रहेका छन् । रोजगारदाता र बेरोजगार व्यक्तिहरूलाई एकै थलोमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेरोजगारी समस्या समस्या कम गर्ने, विदेश पलायन न्यूनीकरण गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताइएको छ । 

‘रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तिबीच सिधा सम्पर्क हुने भएकोले पनि मेला लगत्तै धेरै रोजगारीका अवसर सिर्जना हुने हामीले आशा गरेका छौँ’, अध्यक्ष धामीले भन्नुभयो, ‘रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रम शक्तिको पहिचान गरेपछि सोही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि जनाउँदछौँ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button