तपाईँ सुन्दै हुनुहुन्छः

८९ वर्षमा नागरिकता

बाजुरा । यहाँको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गर्नुभयो । उहाँलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण  नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताउनुभयो । 

वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि सहाराविहीन बन्नुभएकी उहाँ नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । वडाध्यक्ष रावलले ती वृद्धाको  आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताउनुभयो । 

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गर्नुभएको छ । आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उहाँले दिनुभयो । “वडा अध्यक्षका कारणले मैले आज नागरिकता पाएँ”, नेपालीले भन्नुभयो । 

उहाँको श्रीमान् बितेको २२ वर्ष भएपनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित हुनुभएको थियो । नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।

जिल्लाका दुर्गम बस्तीमा कतिपय नागरिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button