विपक्षी दलहरुको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ I प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गर्नुभएको हो ।
बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध सुरु गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्षसँग समय माग गरी विपक्षी दलहरूको तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सभा चल्न नसक्ने बताउनुभयो ।
त्यसपछि नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले अध्यक्षसँग समय माग गरी प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै बैठकमा अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गर्नुभयो
प्रतिपक्षी दलका सांसदहरुले उठेर अवरोध जारी राखेपछि अध्यक्ष दाहालले एक घण्टापछि बस्नेगरी बैठक स्थगित गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्