प्रतिनिधि सभाकाे बैठक भोलि सम्मका लागि स्थगित
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको दुवै बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध शुरु गर्नुभयो ।
प्रतिपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनुभयो ।
सांसद बस्नेतले स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको आरोप लगाउनुभयो ।
विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताउनुभयो ।
नेता बस्नेतले सङ्ख्याको बलमा जनताका आशा गुमाउने गरी सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको आरोप लगाउनुभयो ।
सरकारले ४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएको विषय जनसरोकारको विषय बनिसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण संसदमा जानकारी नदिएसम्म संसद् चल्न नसक्ने बताउनुभयो ।
विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरुले सरकारको जवाफ माग गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै सभा अगाडी बढाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले पटक–पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरुले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।
बिहान ११ बजे भन्दा केही ढिला सुरु भएको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भए पनि सूचना जारी गरी दिउसो ३ बजेपछि मात्रै दोस्रो बैठक बसेको थियो ।
सभाको दोस्रो बैठक पनि सुरु भएलगत्तै कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको विषयमा सरकारको स्पष्ट जवाफको माग गर्दै प्रतिपक्षी दलहरूले अवरुद्ध गरे ।
प्रतिपक्षी दलका सांसदहरूले लगातार बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्