सापकोटाको शरीर अध्ययनका लागि मेडिकल कलेजमा राखिने

बाँके । सहिद स्मृति केन्द्रका आजीवन सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार ओमप्रकाश सापकोटाको जीवन सङ्गिनी सावित्री सापकोटाले मृत्युअघि नै दान गरिसकेको शरीर नजलाउने निर्णय भएको छ । सापकोटाको शरीर अध्ययनका लागि लर्डबुद्ध एजुकेशनल एकेडेमी लि. द्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानीमा राखिने निर्णय भएको हो ।
मरणोपरान्त शरीर दानको घोषणा गरेकी सावित्री सापकोटाको सोमबार देहावसान भएको छ । विगत चार महिनादेखि अस्वस्थ रहँदै आएकी सापकोटाको काठमाण्डौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. १२ निवासी सापकोटाले आफ्नो मृत्युपछि शरीर दान गर्ने घोषणा गरेकी थिइन । स्वर्गीय सापकोटासँगै उनका पति ओम प्रकाश केसी (प्रयत्न) ले समेत मरणोपरान्त शरीर दान गर्ने सहमति गरिसकेको बताउनु भयो । यसका लागि लर्डबुद्ध एजुकेशनल एकेडेमी लि. र आफुहरुबिच सहमति समेत भएको केसीले जानकारी दिनु भयो ।
उक्त सहमति बमोजिम आज मङ्गलवार लर्डबुद्ध एजुकेशनल एकेडेमी लि।द्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानीलाई शव हस्तान्तरण गरिएको मृतकका श्रीमान् केसीले बताउनु भयो ।
सापकोटाको पार्थिव शरीरलाई चिकित्साशास्त्रका जिज्ञासु र विद्यार्थीले अध्ययन अनुसन्धान गर्न मिल्ने गरी शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको हो । मृतकका छोरा दिपक सापकोटा केसीले आमाको इच्छा बमोजिम शव अस्पताललाई हस्तान्तरण गरेका हुन । बाँकेमा आफ्नो मृत शरीर दान गरिएको यो पहिलो घटना हो ।
प्रतिक्रिया राख्नुहोस्