व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृत्ति सामन्ती सोच भएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को आज लोकार्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कुनै जना व्यक्ति वा उसको खानदानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गर्नुभयो । “सबै नेपालीका पुर्खाले लडेर यो देश बनाएको हो, कुनै एक जना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो” उहाँले भन्नुभयो, “अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ ।”

प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकार्पण भएको आत्मकथाबाट गिरिजाप्रसाद कोइराला र सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गर्नुभयो ।

समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचढावको सम्बन्ध रहेको स्मरण गर्दै उहाँलाई सर्वप्रथम २०२५ सालमा नख्खु जेलमा भेट भएको बताउनुभयो । सभापति देउवाले तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनविरुद्ध आफू र गिरिजाप्रसाद कोइराला सँगसँगै लडेको उल्लेख गर्नुभयो ।

कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विगतबाट पटक्कै पाठ सिकेका छैनौँ, अहिले कांग्रेस र एमालेको सरकार छ, हामीले कम्तीका देशको सुशासनको निम्ति काम गर्नुपर्छ ।”
कांग्रेसका सहमहामन्त्री तथा सांसद भीष्मराज आङदम्बेले कांग्रेस पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाले मुलुक र जनताका निम्ति गरेका त्याग, बलिदान र सङ्घर्षका विषयमा स्मरण गराउँदै त्यसबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानबाट ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को जन्म भएको बताउनुभयो । उहाँले आत्मकथामा आफ्नो पारिवारिक र मुलुकको राजनीतिका धेरै विषय समेटिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्