तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका सञ्चार मन्त्रीद्वारा रेडियो नेपालको प्रादेशिक कार्यालयको निरीक्षण

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको मधेश प्रदेशका प्रादेशिक कार्यालय बर्दिबास महोत्तरीको आज स्थलगत निरीक्षण गर्नुभएको छ । 

सो अवसरमा प्रादेशिक कार्यालयका प्रमुख रामपुकार रामले प्रादेशिक कार्यालय तथा प्रादेशिक सेवाबाट प्रसारित हुने समाचार तथा कार्यक्रमका विषयमा मन्त्री लेखीलाई जानकारी दिनुभएको थियो । 

रेडियो नेपालको प्रादेशिक प्रसारण सेवाबाट मैथिली, भोजपुरी, बज्जिका, मगही भाषाको समाचारका साथै विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै आएको छ । यसका साथै नेपाली भाषाको कार्यक्रम पनि प्रादेशिक कार्यालयबाट प्रसारण हुने गरेको छ । 

सो अवसरमा सञ्चार मन्त्री लेखीले प्रादेशिक प्रसारण कार्यालयबाट प्रदेशको कुन कुन गतिविधि तथा समाचारले प्राथमिकता पाएको छ त्यस विषयमा जानकारी लिनुभएको थियो । उहाँले रेडियो नेपालसँग प्रदेश सरकार सहकार्यका साथै सहयोग गर्न तयार रहेको बताउनुभयो । 

उहाँले जनकपुरधाममा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो सहितको कार्यालय स्थापनाका लागि प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button