तपाईँ सुन्दै हुनुहुन्छः

कामको खोजीमा घण्टाघर: मजदुरको संघर्षपूर्ण जीवन

बीरगंज । बीरगन्जको घण्टाघर जहाँबाट बर्षाै देखि मजदुर छानीछानी लगिने गरिएको छ ।

बीरगन्ज महानगरपालिकाको केन्द्रमा रहेको घण्टाघर चोकको सडकछेउमा बिहानैदेखि पर्सा, बाराको विभिन्न गाउँबाट मजदुर आउने गर्दछन् ।

घरको गर्जो टार्ने, छोराछोरीको लालनपालन र छाक टार्ने समस्याले पिरोलिएका मजदुरलाई काममा लगाउन लैजाने साहुको खोजीमा घण्टाघरमा घुइँचो लाग्ने गरेको हो । 

बारा,पर्साका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रका मजदुरहरू घण्टाघरमा दैनिक कामको खोजीमा भेला भए पनि ७५ प्रतिशतले काम नपाएर बेलुका खाली हात घर फर्किनुपर्ने बाध्यता रहेको बारा विश्रामपुर गाउँपालिका बडा नम्बर २ का मजदुर जोगेन्द्र यादवले बताउनुभयो ।

बीरगन्जका बासिन्दा करेसाबारीको खनजोत, घर निर्माण, सरसफाइ लगायत साधारण कामका लागि आवश्यक मजदुर खोज्न कतै नभौतारि सिधै घण्टाघर चोक पुग्ने गर्दछन् । 

वर्षौँदेखि दैनिक मजदुर पाउने स्थानको रुपमा परिचित त्यहाँ बिहान ११ बजेसम्म मजदुरहरू कामका लागि साहुलाई पर्खेर बस्ने गर्छन् । 

मजदुर लिन आउने साहुसँग कामको प्रकृति अनुसार दामको मोलतोल गरेर बेलुका ५ बजेसम्म काम गरेबापत  पाँच/सात सय लिने गरेको मजदुर राम गोपाल मण्डलले बताउनुभयो । घरबाटै खाना खाएर आउने गरेको भन्दै दिउँसो २ बजे नास्ताको लागि एक घण्टा छुट्टी पाउने गरेको उहाँले भन्नुभयो । 

गाउँबाट काम खोज्न दैनिकजसो बीरगन्ज आउने उनीहरू सधैँ काम भने  पाउँदैनन् । कहिलेकाहीँ सीप नजानेका कामका लागि साहुहरू मजदुर लिन आउने गरेको कारण प्रायजसोले काम नपाउने र महिनामा मोटामोटी १० दिन काम पाउने तर २० दिन खाली हात फर्केर जानुपर्ने बाध्यता रहैको गुनासो मण्डलको छ । 

घण्टाघर चोकमा यसरी कामका लागि भेला हुने मजदुरको सङ्ख्याको यकिन विवरण  छैन । औसतमा दैनिक ३५०/५०० मजदुर त्यहाँ कामका लागि भेला हुने गरेको देखिन्छ । काम पाएका दिन चामल, दाल, तरकारी किन्ने घर फर्किदा घरपरिवार, छोराछोरी खुशी हुने तर काम नपाएका दिन रितै घर जाँदा साह्रै दुःख लाग्ने गरेको अनुभूति सुनाउँदै मजदुर बिनेस दासले भन्नुभयो, हामी जस्ता मजदुरका लागि अहिलेसम्म कसैले सोचेको छैन । नेताहरू भोटका लागि खुट्टासम्म ढोग्न आउँछन्, उतिखेर जे भने पनि  मान्न तयार हुन्छन् तर जितेर गएपछि फर्केर कोही आउँदैनन् ।

बीरगन्ज तथा बारा, पर्सामा  उद्योग, कलकारखाना, र कामका अवसरहरू पर्याप्त भएपनी  उद्योग, कलकारखानालाई आवश्यक पर्ने दक्ष जनशक्ति नहुँदा भारतबाट मजदुर ल्याउनु पर्ने बाध्यता रहेको छ भने नेपाली मजदुरहरू हातमा सिप नहुँदा रोजीरोटीको लागि भौतारिदै आएका छन् । 

असुरक्षित, अव्यवस्थित एवं जोखिम समेत मोलेर काम गर्न बाध्य मजदुरहरूमध्ये अधिकांशको आफ्नो घरघडेरी छैन । जग्गाजमिन तथा अन्य आम्दानीको स्रोत नहुँदा व्यापार व्यवसायी वा रोजगारीका लागि अन्यत्र जान नसकेको गुनासो उनीहरूको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button