लुम्बिनीमा पहिलो पटक सीप च्याम्पियनसिप आयोजना
रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ।

प्रदेशभरका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरूलाई सरोकारवाला निकायसँग एकै मञ्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
रुपन्देही उद्योग सङ्घको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तमामा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आइटी तथा होटल म्यानेजमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरूलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो भने स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरूले आफ्नो प्रदर्शनी गरेका थिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबिच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवर्द्धन गर्नु, सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रदेश सरकारले पनि साथ दिएको बताउनुभयो।
कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिएको थियो भने उद्योगीहरूले आफूलाई आवश्यक कामदारको संख्या र सेवा सुविधासहितको जानकारी राखेका थिए ।
कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको ठूलो सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्