तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारिता जगतको सम्मान बढाउन पत्रकारहरूकै अहम् भूमिका रहन्छ’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले पत्रकारिता जगतको सम्मान बढाउने काममा पत्रकारहरूकै अहम् भूमिका हुने बताउनुभएको छ । 

मधेश प्रदेशको मिडिया काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासङ्घ धनुषाको समन्वयमा आज जनकपुरधाममा सम्पन्न पत्रकार आचार संहिता पालनासम्बन्धी अन्तरक्रियामा उहाँले पत्रकारहरूले सधैँ पीडित जनताको पक्षमा सरकारलाई खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो ।

पत्रकारहरूले आफ्नो भूमिकाको समीक्षा गर्न जरुरी रहेको बताउँदै उहाँले पीत पत्रकारिताका कारण समग्र पत्रकारिता क्षेत्र नै प्रभावित भइरहेको बताउनुभयो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले मधेश प्रदेश सरकारले पत्रकारहरूका लागि स्वास्थ्य बिमा, लोककल्याणकारी विज्ञापन सहितको विषयमा सहयोग गर्दै आएको बताउँदै पत्रकारहरूले सधैँ जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो । 

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह तथा चलचित्र बोर्डका कार्यवाहक अध्यक्ष अशोक दत्त सहितका वक्ताहरूले हरेक पत्रकारले आचार संहिताको पालना गर्नुपर्ने विचार राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button