प्रधानमन्त्री कप : गण्डकी प्रदेश विजयी

रुपन्देही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।
सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अर्जुन कुमालको शतक प्रहारबीच गण्डकीले सुपरओभर खेलेर मधेश प्रदेशलाई पराजित गरेको छ । मधेसविरुद्धको खेलमा अर्जुनले शतक प्रहार गरेका हुन् । उनले १०६ रन बनाए । १४० बल खेलेका अर्जुनले १० चौका र १ छक्का प्रहार गरे ।
जारी प्रतियोगितामा यो चौथो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले दुई शतक प्रहार गर्दा त्रिभुवन आर्मी क्लबका तृतराज दासले शतक प्रहार गरेका थिए । अर्जुनले शतक प्रहार गरे पनि गण्डकीले जित निकाल्न सुपर ओभर कुर्नु पर्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको गण्डकीले २२ रन बनाउँदा मधेसले ९ रन मात्र जोड्न सक्यो ।
गण्डकीका लागि अर्जुन बाहेक अरू ब्याटरले उल्लेख योगदान गर्न सकेनन् । गण्डकीलाई जितका लागि अन्तिम बलमा दुई रन चाहिएको थियो । बलिङमा मधेशका विशाल पटेल थिए । ब्याटिङमा गण्डकी सन्दीप पराजुली थिए । अन्तिम विकेट बाँकी रहेको अवस्थामा विशालले वाइड फ्याँक्दा स्कोर बराबरी भएको थियो । तर, रनका लागि दौडिदा सन्दीप रनआउट हुँदा गण्डकी अलआउट भयो र उसले मधेसले जति नै २४६ रन जोड्यो ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेसले ७ विकेटको क्षतिमा २४६ रन जोड्यो । मधेशका लागि तीन ब्याटरले अर्ध शतक प्रहार गरे । ओपनर रोहन विकले ६४, हरिशंकर साहले ५१ र रुपेश सिंहले ३२ बलमा नटआउट ५१ रन बनाए ।
बलिङमा गण्डकीका विपिन खत्री र कमल परियारले २–२ विकेट लिन सफल भए । आज जित हात पारेसँगै गण्डकीले पुछारको स्थान छाड्न सफल भयो । उसले सबै खेल खेल्दा ४ अङ्क जोड्यो । अन्तिम दुई खेल बाँकी छदा मधेसको पनि ४ अङ्क छ ।
प्रतिक्रिया राख्नुहोस्