तपाईँ सुन्दै हुनुहुन्छः

विश्व क्षयरोग दिवस : बाँकेमा क्षयरोगीको सङ्ख्या बढ्दो, लगानी र सेवा प्रवाहमा जोड

Oplus_131072

नेपालगन्ज । आज विश्व क्षयरोग दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मूल नाराका साथ बाँकेमा पनि दिवस मनाइँदैछ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, क्षयरोग विरुद्ध क्रियाशील अन्य सङ्घसंस्थाहरूले दिउँसो नेपालगन्जमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

बाँकेमा चालू आर्थिक वर्षको हालसम्म ५९० जना क्षयरोगका बिरामी फेला परेका छन् । यो माघ महिनासम्मको तथ्याङ्क हो । ती मध्ये महिला २४३ जना र पुरुष ३४७ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार १४ वर्ष मुनिका ११६ जना छन् भने बाँकी ४७४ जना १५ वर्षमाथिका हुन् ।

क्षयरोगी पुष्टि भएकाहरूको एचआइभी समेत परीक्षण गर्ने गरिएको साहले बताउनुभयो । क्षयरोग पुष्टि भएका मध्ये ५४८ जनाको एचआइभी परीक्षण गर्दा ८ जनामा पोजिटिभ रिपोर्ट आएको छ । उनीहरूले एआरटी सेवा लिन सुरु गरिसकेको पनि साहले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १ हजार १८२ जना क्षयरोगीका बिरामी फेला परेका थिए । ती मध्ये ४९६ जना महिला र ६८६ जना पुरुष थिए । १४ वर्ष मुनिका २६८ जना थिए भने ९१४ जना १५ वर्षमाथिका थिए । क्षयरोग पुष्टि भएका मध्ये १ हजार १४० जनाको एचआइभी परीक्षण गर्दा ९ जनामा एचआइभी पोजिटिभ देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १ हजार १०२ जना क्षयरोगीका बिरामी फेला परेका थिए ।

ती मध्ये ४५३ जना महिला र ६४९ जना पुरुष रहेका थिए । १४ वर्ष मुनिका २३३ जना बालबालिकामा क्षयरोग देखा परेको थियो भने ८६९ जना १५ वर्षमाथिका थिए । ९४९ जनामा एचआइभी परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको थियो ।

स्वास्थ्यकर्मीहरूको सक्रियता बढेसँगै समाजमा क्षयरोगीका बिरामीहरू फेला पर्ने क्रम बढेको साहको भनाई छ । यो रोगको परीक्षण र उपचार निःशुल्क हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button