सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ ।
छलफलपश्चात् समितिबाट विधेयकको दफा २१ देखि दफा २६ सम्म पास भएको छ । समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको जानकारी गराउनुभयो ।
दफा २१ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने र कुलपति विश्वविद्यालयको प्रमुख हुने तथा दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको निरीक्षण गर्ने वा आवश्यकताअनुसार निर्देशन दिन सक्ने भन्ने व्यवस्था रहेको छ ।
यसैगरी दफा २२ मा सहकुलपति शिक्षा मन्त्री हुने र सहकुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र आवश्यकताअनुसार निर्देशन दिन सक्ने भनिएको छ । दफा २३ मा उपकुलपति नियुक्ति र २४ मा उपकुलपति नियुक्त हुन नियमको व्यवस्था गरिएको छ ।
यसैगरी दफा २५ मा सभाले उपकुलपतिको नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने र २६ मा उपकुलपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रधानमन्त्री कुलपति रहने व्यवस्थाप्रति सबैको एकमत रहेकाले यही धारणालाई अवलम्बन गरेर जान सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो,“उपकुलपति प्रतिस्पर्धी बनाऊँ भन्ने विषयमा विज्ञ नै छनोट गर्ने भन्ने छ । मेरिटबाट छनोट गर्नुपर्छ भन्ने अभ्यास सुरु गरिसकेछौँ, त्यसलाई अझै बढी स्वस्थ र स्वच्छ कसरी बनाउने भन्नेमा विधि निर्माण गरेर जाऔँ । लोकसेवाबाट भिसी, रजिष्ट्रार, डिन लिने भन्नेमा अन्तर्राष्ट्रिय अभ्यासले पनि त्यति सान्दर्भिकता देखाउँदैन ।”
मन्त्री भट्टराईले विश्वविद्यालयले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग सहकार्य र समन्वय गर्नुपर्ने गरी व्यवस्था गर्न खोजिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्