विश्व क्षयरोग दिवस भोली नेपालमा विविध कार्यक्रम गरी मनाइँदै
भक्तपुर । क्षयरोगका ४० प्रतिशत बिरामी समाजमा लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ ।

विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिहरूको सङ्ख्यामा ठुलो अन्तर रहेको बताउनुभयो ।
नियमित औषधी सेवन गरेमा निको हुने क्षयरोगका करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू उपचारको दायरामा नआएकोले तिनको खोजी चुनौतीपूर्ण भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेका छन् । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरूको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै खाएको छ ।
विश्व क्षयरोग दिवस भोली नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘हो, हामी अन्त्य क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता,आजको आवश्यकता ।’ भन्ने नारासहित भोली यो दिवस विश्वभर मनाइँदैछ।
केन्द्रका निर्देशक डा.तिवारीले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ सरकार अघि बढिरहेको बताउनुभयो ।
निर्देशक डा.तिवारीले नेपालमा क्षयरोग जनस्वास्थ्य समस्याको रुपमा रहिआएको बताउँदै यो रोगको अन्त्यका लागि सबै क्षेत्रको सहकार्य जरुरत रहेको उल्लेख गर्नुभयो ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात् टिबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।
दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमी तथा देशैभर क्षयरोग निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाउने गर्दछन् ।
सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित रहेको र जसको दर एक लाख जनसङ्ख्यामा २९९ रहेको तथ्यांक छ ।
त्यसैगरी क्षयरोगका कारण सोही अवधिमा १६ हजार व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ ।त्यही समयमा राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्तिहरू उपचारमा दर्ता रहेको जसमा ६९ प्रतिशत पुरुष ३९ प्रतिशत महिला रहेको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्