तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा किशोरी आमाहरूको सङ्ख्या बढ्दै

डडेल्धुरा । डडेल्धुरामा २० वर्षमुनिका किशोरी आमाहरूको सङ्ख्या बढ्दै गइरहेको छ । 

स्वास्थ्य कार्यालय डडेल्धुरामा अनुसार चालु आव २०८१÷८२ को माघ महिनासम्म कुल संस्थागत सुत्केरी हुने मध्ये १२ दशमलव ३ प्रतिशत किशोरीहरू आमा बन्ने गरेका छन् । 

कार्यालयका आमा सुरक्षा कार्यक्रम फोकल पर्सन आशा थापाका अनुसार चालु आवमा १ हजार २ सय ६५ महिलाहरूले विभिन्न स्वास्थ्य संस्थाहरूमा बच्चा जन्माएकोमा चालु आवको ७ महिनामा मात्र २० वर्ष मुनिका १ सय ५५  किशोरीहरूले शिशुहरूलाई जन्म दिएका छन् ।

गत आव २०८०÷८१ मा पनि किशोरी आमाहरूको सङ्ख्या बढी नै थियो ।

आमा सुरक्षा कार्यक्रम फोकल पर्सन थापाका अनुसार कार्यालयको तथ्याङ्कमा कुल २ हजार २ सय ८८ महिलाहरू संस्थागत सुत्केरी भएकोमा २० वर्षमुनिका ३ सय ८ जना महिलाहरूले बच्चा जन्माएका छन् । तसर्थ: गत आवमा १३ दशमलव ५ प्रतिशत महिलाहरूले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । 

मुलुकी अपराध (संहिता) २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न वा गराउन पाइँदैन, ऐनमा उल्लेखित प्रावधान विपरीत २० वर्षमुनि विवाह गरे ÷गराएमा त्यस्तो विवाह स्वतः रद्द हुने र कसुर गरेको खण्डमा तीन वर्ष कैद सजाय र तीस हजार जरिवाना गरिने कानुनी प्रावधान रहेको भए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकिरहेको छैन । 

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले कम उमेरमा बच्चा जन्माउँदा हुने बेफाइदाहरूका बारे सबैलाई सचेतना हुँदाहुँदै पनि कम उमेरमा बच्चा जन्माउने किशोरीहरू बर्सेनि घट्नुको साटो बढिरहेको बताउनु भयो । जिल्लामा जनसङ्ख्या वृद्धिदर, जन्मान्तर जस्ता क्षेत्रमा आमूल परिवर्तन आएको भए पनि बालविवाह नै रोक्न चुनौती रहेकाले कम उमेरमा बच्चा जन्माउने किशोरीहरू बढिरहेको उहाँले बताउनुभयो । 

“अहिले मागी विवाहहरू उपयुक्त उमेरमा नै हुने गरेकोमा प्राय प्रेम विवाहका कारण पनि बालविवाह हुने र चाँडो सन्तान जन्मिने गरेको छ ।”, उहाँले भन्नुभयो । 

महिलाहरूको उमेर कम्तीमा २० वर्ष नपुगी शिशुलाई जन्म दिएमा स्वास्थ्यमा सामान्यदेखि जटिल खालका समस्याहरू उत्पन्न हुनसक्ने र कतिपय अवस्थामा त अकालमै ज्यान जा नसक्ने भएकाले उपयुक्त उमेरमा बच्चा जन्माउन स्वास्थ्यकर्मीहरुले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button