तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

कास्की । पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ सुरु भएको छ । महोत्सवको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्‌घाटन गर्नु भयो  ।  महोत्सव  उद्घाटनमा  बोल्दै  प्रमुख आचार्यले पोखराको समग्र नाट्य क्षेत्रको उन्नयन, विकास, प्रवर्द्धन र संरक्षणमा नगर प्रमुखका हैसियतले अभिभावकत्व प्रदान गर्ने विश्वास दिलाउनु भयो ।

महोत्सवका निर्देशक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले  सोचे भन्दा पनि बढी दर्शकको सहभागितामा सांस्कृतिक प्रस्तुतसहित सडक परिक्रमा गरेर नाटक महोत्सवको भव्य रुपमा उद्‌घाटन गर्न पाएको भन्दै खुशी व्यक्त गर्नु भयो । त्यतिमात्र नभएर नाटक मुनामदनलाई कृषक, आमा समूह, व्यवसायी, संस्कृतिकर्मी लगायतका नयाँ दर्शकलाई देखाउन पाएकोमा उत्साहित बनेको उहाँको भनाइ थियो । शनिबार इन्द्रेणी थिएटरको प्रस्तुतीको ‘भ्रूण’ नाटक समेत मञ्चन भयो ।  

महोत्सव अन्तरगत आइतबार दिउँसो ३ बजे ‘द स्टेज इज कलिङ यु’ भन्ने अन्तरक्रियात्मक कार्यक्रम छ । जहाँ कलाकारहरू दिया मास्के र प्रकाश घिमिरेले अञ्जु दाहालको सहजिकरणमा छलफलमा  जुट्नेछन् ।  साँझ ५ बजे ट्युनिसियाबाट आएको नाटक ‘अस्च’ मञ्चन हुनेछ । यसका अलावा मौलिक धुन र साङ्गीतिक प्रस्तुती, नाटकको लागि आवश्यक पर्ने कस्टम, प्रप्स सहित आर्ट, पेन्टिङ, हैंडीक्राफ्ट, पुस्तक, तस्बिर प्रदर्शनी र बिक्री हुनेछ ।  

आयोजकले पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएका छन् । चैत्र १३ सम्म सञ्चालन हुने महोत्सव अवधिभर नेपालका साथै चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशहरूका नाटक मञ्चन हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button