तपाईँ सुन्दै हुनुहुन्छः

२३ औ तिलोत्तमा गोल्डकप सुरु 

रुपन्देही । रुपन्देहीमा पश्चिम क्षेत्रमा सर्वाधिक राशि रहेको र पुरानो फुटबल प्रतियोगिता सुरु भएको छ । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखि सुरु भएको हो । 

बुटवल उपमहानगरपालिका संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगमा सुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रता लिएको छ । निक्कै प्रतिस्पर्धात्मक खेलको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरि सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए । राजधानी बाहिर देशकै उत्कृष्ट गोल्डकपका रुपमा रहेको यो प्रतियोगितालाई थप परिष्कृत गरेर सञ्चालन गर्ने गरी आफु लाग्ने उनले बताए । 

कार्यक्रममा अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङले तिलोत्तमा गोल्डकपलाई थप परिष्कृत रुपमा लैजान आग्रह गरे । रात्रिकालीन प्रतियोगिता आयोजना हुने गरी फ्लड लाइट जडान जरुरी रहेको भन्दै उनले यसमा ध्यान दिन आग्रह गरे । यसैगरी फुटबलको स्तर वृद्धि गर्न फुटबल प्रशिक्षकको आयोजनामा जोड दिन समेत आग्रह गरे ।

एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेल विकासमा सरकारबाट सहयोग अझ बढाउनुपर्ने बताए । 

यो वर्ष पुरस्कार राशिमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैयाँ वृद्धि गरिएको रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।  ‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।’–उनले भने । यसैगरी उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । व्यस्त स्याडुलका कारण यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भने प्रतियोगितामा सहभागी नहुने उनले बताए । 

यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित सङ्कटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टिमको प्रतिस्पर्धा गर्नेछन् । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैयाँ, ८८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button