तपाईँ सुन्दै हुनुहुन्छः

‘पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत गर्नुपर्छ’

बागलुङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई जनचाहाना अनुसार शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्वमा रहेका सबै तयार हुनुपर्ने बताउनुभएको छ ।

मुलुकलाई प्रतिगमनबाट जोगाउन, आर्थिक समृद्धितर्फ लाग्न र समाजवादको आधार तयार गर्न जबाफदेही र पारदर्शी नेता देशले खोजेको उहाँको भनाई थियो ।

नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिद्वारा शनिबार आयोजित ‘जनयुद्ध, संविधान र समाजवाद’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले माओवादी सरकारमा नगई र आफ्नै वर्गतर्फ फर्केर जनताको सेवा गर्न तयार हुनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गणतन्त्रमा जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लागेको बेला आफूलाई जनउत्तरदायी र जनपक्षीय रुपमा सङ्गठन शक्तिशाली बनाउन जनता र कार्यकर्ता कहाँ जानुपर्ने बताउनुभयो ।

बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढाले देशको बदलिँदो परिवेश, सङ्गठनात्मक अवस्था र नेताहरूको आचरणमा शुद्धीकरण हुनुपर्छ भन्ने जनताको माग रहेको बताउनुभयो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठको अध्यक्षता र सहसचिव जीवन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button