मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल
वीरगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ ।

नेकपा एमाले पर्साद्वारा ३ महिने वडा केन्द्रित अभियान अन्तर्गत आज वीरगञ्जमा आयोजित महानगर स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले अगाडी बढाएको बताउनुभयो ।
उहाँले मुलुकको समृद्धिको यात्रामा पार्टी अध्यक्ष ओली अनवरत रुपमा लागिरहनुभएको र यसलाई सफल बनाउन आम पार्टी कार्यकर्ताको समेत महत्त्वपूर्ण योगदान हुनुपर्ने कुरामा जोड दिनुभयो ।
महासचिव पोखरेलले समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न मुलुकमा आर्थिक–सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले देशको राजनीतिक अस्थिर भएपछि विभिन्न विकृति विसङ्गति बढेको र त्यसलाई अन्त्य गरी स्थिर सरकार दिनकालागि दुई ठुला दलको सहभागितामा संयुक्त सरकार बनेको बताउनुभयो ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा, स्वास्थ्य सँगै कृषिको आधुनिकीकरण, उद्योगको बिस्तार, रोजगारको सृजना गर्ने कामतर्फ सरकार केन्द्रित भएको दाबी गर्नुभयो ।
उहाँले समृद्ध मुलुक निर्माणका लागि उत्पन्न बाधा,अवरोधलाई हटाउन सरकारले अध्यादेश मार्फत कानुन ल्याएको र त्यसको कार्यान्वयनमा सरकार जुटिरहेको दाबी गर्नुभयो ।
उहाँले वीरगन्जमा अनेक विकल्प हुँदा हुँदै मेन रोडको दायाँ/बायाँ २५/२५ मिटर फराकिलो बनाउँदा पुरानो बजारको अस्थित्व समाप्त हुने देखिएकाले यसलाई बचाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, मधेस प्रदेशका सचिव मनोज पौडेल, केन्द्रिय सदस्य अरविन्द सिंह, सांसद प्रभु हजरा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्