तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा पानी संरक्षण र दिगो उपयोगमा जोड

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवस २०२५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पानीको संरक्षण, दिगो उपयोग र जल स्रोतको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रपति भवनबाट जारी सन्देशमा उहाँले पानी जीवनको आधार भएकाले यसको दिगो संरक्षण अत्यावश्यक रहेको उल्लेख गर्नुभएकाे छ । उहाँले भूमिगत जलस्रोतको दोहन, शहरीकरण, जलवायु परिवर्तन र प्रदूषणका कारण पानीका स्रोतहरू संकटमा परेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएकाे छ । साथै, प्राकृतिक स्रोतको क्षयले पारिस्थितिक प्रणालीमा असर पार्ने भएकाले जल स्रोत संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्नेमा उनले जोड दिनुभयाे ।

राष्ट्रपति पौडेलले जल संकट समाधान गर्न आधुनिक प्रविधिको प्रयोग, तटबन्ध निर्माण, पानी संकलन प्रणाली सुधार र पारम्परिक जल स्रोतको पुनः स्थापनामा ध्यान दिनुपर्ने बताउनुभयाे । उहाँले पानी व्यवस्थापनका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै, खासगरी ग्रामीण भेगमा वर्षा जल संकलन, पोखरी तथा तालहरूको संरक्षण जस्ता उपायहरूलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयाे ।

उहाँले विश्व पानी दिवसले जल स्रोतको संरक्षणका उपायहरू अवलम्बन गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button