तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एकै पटक तीनवटा औद्योगिक तथा व्यवसाय प्रदर्शनी हुँदै  

चितवन ।  चितवन उद्योग सङ्घले एकै पटक तीनवटा प्रदर्शनी गर्ने भएको छ । नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ मा एकै पटक तीन वटा प्रदर्शनी गर्न लागेको हो । 

सङ्घले यही चैत्र १४ गते देखि १८ गते सम्म चितवन प्रदर्शनी केन्द्रमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्न लागेको हो । सोही क्रममा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०८१ र स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला गर्न लागेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । सङ्घको प्रदर्शनी तथा व्यापार प्रवर्धन समितिका संयोजक दिनुप कुमार बरालका अनुसार औद्योगिक प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ्, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया), निर्माण  उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामाग्रीहरू राखिने छ । 

प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । नव प्रवर्तन  र नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने यो प्रदर्शनी सहयोगी बन्ने छ । प्रदर्शनीमा २ सय भन्दा बढी स्टलहरू रहने बरालले बताउनुभयो । उहाँका अनुसार  औद्योगिक प्रदर्शनीमा ५० हजार बढी स्वदेशी तथा विदेशीहरूले अवलोकन गर्ने अनुमान लिइएको छ । 

प्रदर्शनीकै क्रममा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको प्रवर्द्धन सहयोगमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०८१ गर्न लागिएको छ । बागमती प्रदेशका ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदाहरूकाे चित्रण हुने गरी प्रत्यक्ष रूपमा कोरिएका चित्रहरू बिच प्रतियोगिता गराइने छ । 

यस्तै चैत्र १४ गते देखि वैशाख ९ गते सम्म नयाँ वर्षको अवसरमा स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशी उत्पादनको प्रबद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । सो मेलामा एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल बिक्रीका लागि राखिने छ । मेलामा १५ हजार जोर भन्दा बढी जुत्ता चपलको बिक्री हुने र रु १ करोड ५० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेलामा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बरालले जानकारी दिनुभयो । 

संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले निर्यात मुखी उद्योगलाई प्रथामिकतामा राखेर प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसले औद्योगिक क्षेत्रको प्रवर्धनका लागि सहयोग पुग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button