एसइई परीक्षामा वीरगन्ज कारागारका ४ कैदीबन्दी सहभागी

बीरगंज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा वीरगन्ज कारागारका चार जना कैदीबन्दी सहभागी भएका छन् ।
एसइईमा वीरगन्ज कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्तीकरणी, डाँका, चोरी र लागूऔषध मुद्दाका चार जना पुरुष कैदीबन्दी सहभागी भएका हुन् ।
कारागारका कैदीबन्दीलाई कारागारभित्र नै एसइई दिने व्यवस्था गरिएको वीरगन्ज कारागारका प्रमुख (जेलर) खिमराज भुसालले जानकारी दिनुभयो । एसइई सहभागी हुन एक जनाले बाराबाट र तीन जनाले पर्साबाट परीक्षा फारम भरेको जेलर भुसालले बताउनुभयो ।
पर्सा जिल्लाबाट यस वर्ष कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् । जसमा ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र रहेका छन् ।
जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएकामा २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा परीक्षा केन्द्र रहेको छ ।
यसैबीच आजबाट शुरु एसइई परीक्षाको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा पर्सामा मर्यादित,व्यवस्थित,र अनुशासित ढङ्गले सम्पन्न भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्