भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता
बाजुरा I जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उहाँले बताउनुभयो । उहाँले त्रिवेणी नगरपालिकामा रु २८ लाख २५ हजार, बूढीगङ्गा गाउँपालिकालाई रु ८६ लाख र बूढीनन्दा नगरपालिकालाई रु १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो । साथै गौमूल गाउँपालिकामा रु १३ लाख ७५ हजार, खप्तड छेडेदहमा रु दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई रु दुई लाख २५ हजार गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।
मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उहाँले बताउनुभयो । मनसुनजन्य विपद्बाट बूढीगङ्गा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्