तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेश ५ विकेटले विजयी 

रुपन्देही । रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । 

बुधबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीले दिएको ११७ रनको लक्ष्य ३१.१ ओभरमा भेट्टाएको हो । 

सुदूरपश्चिमका लागि किरण ठगुन्ना र नारायण जोशीको उत्कृष्ट साझेदारीले सुदूरपश्चिमको जीत सुनिश्चित गरेको हो । सुदूरपश्चिमका लागि किरणले ४३ बल खेल्दै ४ चौका र २ छक्काको सहयोगमा अविजित ४३ रन बनाए । यसै गरि नारायण जोशीले अविजित २५ रन र प्रकाश पाण्डेले २२ रन बनाए ।  बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १÷१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ११६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७१ बल खेलेर ४ चौकाको सहयोगमा ४१ रन र प्रज्वल थापाले ५७ बलमा ३ चौकाका सहयोगमा ३० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्क समेत जोड्न सकेनन् । लुम्बिनीका २ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए भने बिप्रसन केसीले १ रन, मृनाल गुरुङले २ रन, कृष्ण कार्कीले ४ रन बनाए ।

बलिङमा सुदूर पश्चिमका हेमन्त धामीले ९ ओभरमा १ मेडेन सहित २६ रन खर्चिएर लुम्बिनीको ४ विकेट लिए । यस्तै शेर मल्ल, सौर्य श्रेष्ठ र मिलन बोहराले समान २र२ विकेट लिए ।

जारी प्रतियोगितामा ६ खेल खेलेको लुम्बिनी ४ मा जित र २ मा हार गरि ८ अङ्कका साथ तेस्रो स्थानमै कायम छ भने ६ खेल नै खेलेको सुदूर २ मा जीत र ४ मा हार गरि ४ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा उक्लेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button