विद्यार्थीलाई साइबर अपराध विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
बाँके । बाँकेको नेपालगन्ज–११ स्थित नारायण माध्यमिक विद्यालयमा साइबर अपराधसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरीले स्थानीय नारायण माध्यमिक विद्यालयका मावि तहका विद्यार्थीहरूलाई लक्षित गरेर साइबर अपराध र आत्महत्या न्युनिकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रहरी निरीक्षक शिवा थापाले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो । साइबर अपराध र आत्महत्या गर्नुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम र कानुनी व्यवस्थाहरूको बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागी बालबालिका स्वयंले साइबर अपराध आत्महत्याका कारण परेको असरहरूको बारेमा उदाहरण प्रस्तुत गर्दै साइबर अपराध नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक थापाले विद्यालयमा आत्महत्याको अवस्थाको बारेमा छलफल र जानकारी लिनुभएको थियो ।

आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण आत्महत्या भइरहेको भन्दै उहाँले साइबर अपराध र आत्महत्या न्यूनीकरणका लागि स्वयं बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयको कक्षा ८ देखि १२ सम्मका अध्ययनरत विद्यार्थी, शिक्षकहरूको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्