राष्ट्रिय सभा बैठक : समसामयिक विषमा सांसदहरूद्वारा धारणा प्रस्तुत
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले संविधान कार्यान्वयनबाट भएका उपलब्धि, मुलुकको समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा धारणा राख्नुभएको छ ।

बैठकमा सांसद कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनको समीक्षा गर्ने बेला भएको बताउनुभयो । सांसद सिटौलाले ठूला क्रान्तिपछि भएका परिवर्तनबाट आएका उपलब्धि जनताले कति महसुस गर्न सके भन्ने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले राजा आउँछ भनेर जनतालाई भड्काउने गरी भइरहेका कामविरुद्ध परिवर्तनकारी राजनीतिक दलहरू फेरि एकताबद्ध भएर उभिने बेला भएको बताउनुभयो ।
सांसद उर्मिला अर्यालले राजनीतिक दलहरूले जनता र आम नागरिकसामु गरेका बाचा र लक्ष्य र पुरा गर्न कहाँ चुक्यौँ भन्ने कुराको समीक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकार छिटो छिटो परिवर्तन गर्ने र बढी सत्तामुखी हुने अवस्थाले गर्दा राजनीतिक दलहरूप्रति जनताको विश्वास गुम्दै गएको पनि बताउनुभयो ।
सांसद डाक्टर बेदुराम भुषालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै समाजवादी गणतन्त्रतर्फको दिशामा राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।
बैठकमा सांसदहरु मोहम्मद खालिद, अन्जान शाक्य, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल लगायतले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्