पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे गृहमन्त्री लेखकद्वारा संसद्लाई जानकारी
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक, शून्य र विशेष ससमयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले राज्य कोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी गराउनुभयो ।
गृहमन्त्री लेखकले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको जानकारी गराउँदै सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाएको बताउनुभयो ।
गृहमन्त्री लेखकले पूर्वविशिष्टहरूले सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा लिइरहेको जानकारी गराउँदै संसदबाट कानुन बनाएर सेवा सुविधा दिनका लागि तयारी थालिएको पनि स्पष्ट पार्नुभयो ।
गृहमन्त्री लेखकले पाथीभरामा केबलकार निर्माणको विषयमा देखिएको समस्या वार्ता र संवादमार्फत समाधन गर्न वार्ता टोली गठन गरी काम गरिरहेको जानकारी गराउनुभयो ।
गृहमन्त्री लेखकले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले भूकम्प र मनसुनजन्य विपद् प्रभावितहरूका निजी आवास निर्माणका लागि आवश्यक रकम व्यवस्थापन, मापदण्ड निर्माण लगायतका तयारी पुरा गरी कामले लय समातेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्