सगरमाथा संवाद कार्यक्रमको कार्यतालिका सार्वजनिक
काठमाडौँ । सरकारले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

सगरमाथा संवादको सचिवालयले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी जेठ २ गतेदेखि ४ गते सम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।
सगरमाथा संवादको पहिलो दिन अर्थात् ज्येष्ठ २ गते उद्घाटन सत्रसहित हिमाली क्षेत्र र हिमनदी संरक्षणलाई उच्च पहाडी क्षेत्र र समुद्री टापुहरूको भविष्यसँग जोड्दै यस क्षेत्रमा तत्काल लिनुपर्ने पहल बारे छलफल हुनेछ ।
यसैगरी सगरमाथा संवादमा खाद्य सुरक्षा तथा कृषि पुनरुत्थान, जलवायुजन्य प्रकोप तथा जोखिम न्युनिकरण र पुनरुत्थान, हिमाली क्षेत्रमा पुगेको क्षति न्युनिकरणका लागि भइरहेका प्रयासबारे छलफल हुने सगरमाथा संवाद सचिवालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायु परिवर्तनसँग जोडिएका हिमालसम्बन्धी मुद्दाहरूमा नेपालले नेतृत्व लिने गरी सगरमाथा संवादलाई अघि बढाएको बताउनुभयो ।
मुख्य सचिव अर्यालले सगरमाथा संवादलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिई परराष्ट्र नीतिकै अङ्गका रूपमा विकास गर्दै जाने र भविष्यमा आवश्यकता अनुसार मुद्दाहरू परिवर्तन गर्दै लैजाने पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्