तपाईँ सुन्दै हुनुहुन्छः

व्यापार नीतिको तेस्रो समीक्षासम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको पूर्वतयारी स्वरूप विश्व व्यापार सङ्गठनबाट माग भई आएको विवरण तथा तथ्याङ्क तयार गर्न र नेपालको राष्ट्रिय प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्ने सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 

मन्त्रालयले फाल्गुन २५ र २६ गते सरोकारवाला २५ वटा मन्त्रालय/विभाग/निकायको सक्रिय सहभागितामा व्यापार नीति समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । 

सन् २०१८ देखि हालसम्म समग्र व्यापार नीतिसँग सम्बन्धित नीतिगत, कानुनी, प्रक्रियागत एवम् संरचनागत सुधार एवम् परिवर्तनहरूको अध्ययन विश्लेषण गरी आवश्यक जानकारी, सूचना, तथ्याङ्क तथा सरकारको प्रतिवेदनको प्रारम्भिक रूपरेखा तयार गरिएको छ ।

व्यापार नीति समीक्षा विश्व व्यापार सङ्गठनबाट सदस्य राष्ट्रहरूको व्यापारसँग सम्बन्धित समग्र नीति, कानुन, प्रक्रियागत व्यवस्था तथा संस्थागत संरचनाको विश्लेषण गरी आवधिक रूपमा समीक्षा गरिने प्रावधान हो । यस क्रममा सदस्य राष्ट्रको तर्फबाट राष्ट्रिय प्रतिवेदन र विश्व व्यापार सङ्गठनको सचिवालयबाट सचिवालयको प्रतिवेदन तयार भई विश्व व्यापार सङ्गठनको सम्पूर्ण सदस्यको प्रतिनिधित्व हुने व्यापार नीति समीक्षा निकायमा छलफल हुने गर्दछ ।

नेपालको व्यापार नीतिको पहिलो र दोस्रो समीक्षा क्रमशः सन् २०१२ र सन् २०१८ मा सम्पन्न भएको थियो । नेपालको व्यापार नीतिको तेस्रो समीक्षा सन् २०२५ नोभेम्बर १७ र १९ मा विश्व व्यापार सङ्गठनको सचिवालयमा हुने तय भएको छ । 

उक्त समीक्षा नेपालले अङ्गीकार गरेको व्यापार नीति र कानुनी तथा संस्थागत व्यवस्थाको सम्बन्धमा विश्व व्यापार सङ्गठनको सदस्यहरूलाई पारदर्शी रूपमा जानकारी गराई प्रत्यक्ष वैदेशिक लगानी एवम् वैदेशिक व्यापारको क्षेत्रमा भएका नीतिगत र कानुनी व्यवस्थाको प्रचार गर्ने एक महत्वपूर्ण अवसर हुने बताइएको छ ।

नेपालको व्यापार नीति समीक्षा प्रत्येक सात वर्षमा हुने हुँदा सन् २०२५ पछि अर्को सात वर्षसम्म उक्त समीक्षा प्रतिवेदनले नेपालको व्यापार नीतिको समग्र पक्षको प्रतिनिधित्व गर्छ । 

यस कार्यशालाबाट तयार गरिएको विवरणले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको तयारीको लागि महत्वपूर्ण योगदान पुग्ने यस मन्त्रालयको अपेक्षा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button