पिएम कपमा लुम्बिनीद्वारा वाग्मतीलाई ११६ रनको विजयी लक्ष्य

लमही । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आजको खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिताको आठौँ दिनको २०औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनायो ।
लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयोग गरेको वाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ औँभरमा पुगेर टुङ्गियो ।
आकाश त्रिपाठीले ३३ रन जोड्नु बाहेक अरू खेलाडीले धैर्यता देखाउन नसक्दा बागमतीले विकेटको फाइदा उठायो ।
छैठौं ओभरको पाँचौँ बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन शुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडे ।
अर्को ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेको बलमा ढकालको हातबाट क्याच आउट भए ।
लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रुपमा आउट भए ।
प्रज्वल थापा ६ रन जोडेर ईशान पाण्डेको बलमा बोल्डआउट भए ।
विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गौतम केसीको बलिङमा विकेट किपर विकेक मगरबाट क्याच आउट भए ।
कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा सोनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए ।
निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए ।
रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए । लुम्बिनीलाई लो स्कोरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।
सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।।
रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा सोनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए ।
११६ रनको विजयी लक्ष्य पछ्याउन अब केहीबेरमा वाग्मती प्रदेशले जवाफी ब्याटिङ गर्दैछ ।
जारी प्रतियोगितामा लुम्बिनी प्रदेश अङ्क तालिकाको चौथो स्थानमा छ भने वाग्मती नवौँ स्थानमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले खेलीरहेका छन् ।
फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ ।
दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन्
हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्