कौटिल्य ग्लोबल स्कुलको वसन्त मेला २०८१ सम्पन्न

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा कौटिल्य ग्लोबल स्कुलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
तीनकुनेस्थित विद्यालयको हाताभित्र भएको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले विद्यालयको शैक्षिक प्रगतिमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिलाई उच्च मूल्याङ्कन गर्नुभयो ।
शिक्षाको महत्त्वमा जोड दिँदै मुख्यमन्त्री लामाले विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नुभयो ।

यसैगरी कार्यक्रमका सभापति कौटिल्य ग्लोबल स्कुल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्लेले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।
अध्यक्ष काफ्लेले एक्काइसौँ शताब्दीमा विद्यार्थीमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्ने उल्लेख गर्दै विकसित प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । सोही अनुसारको टेक्नोलोजीमार्फत शिक्षा दिएर विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमताको विकास गरिने उहाँले प्रण समेत गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशसभा सदस्यद्वय सुनिल केसी र सुना परियारले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै निरन्तर शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा कौटिल्य ग्लोबल स्कुलका प्राचार्य बीडी निरौलाले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिलाई विद्यालयका लागि ऐतिहासिक क्षणको रूपमा लिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकीकृत उपभोक्ता समितिका अध्यक्ष उज्ज्वल केसी, पूर्व अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्री, नेपाली काङ्ग्रेसका युवा नेता अर्जुन पराजुली, विद्यार्थी, अभिभावक, बुद्धिजीवी लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य सृजनात्मक गतिविधिहरू आयोजना गरेका थिए। यसले विद्यार्थीहरूलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो। विद्यालयले कार्यक्रममा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी र फुड स्टलको पनि आयोजना गरेको थियो। कार्यक्रममा उल्लेख्य मात्रामा विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्