एक पालिका, एक खेलमैदान सरकारको प्राथमिकता: मन्त्री भण्डारी
रूपन्देही ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रत्येक पालिकामा खेलमैदान निर्माण सरकारको प्राथमिकता रहेको बताउनुभएको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रदेश स्तरमा खेल पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले एक पालिका, एक खेलमैदान निर्माण सरकारको लक्ष्य रहेको बताउनुभयो।
सिद्धार्थ क्रिकेट रंगशालाले चुनौतीका बाबजुद अन्तर्राष्ट्रिय स्तरको छवि बनाएको उल्लेख गर्दै उहाँले सरकार खेल पूर्वाधारको स्तरवृद्धिमा लागेको बताउनुभयो। उहाँले एनपीएलले खेलाडीहरूलाई ऊर्जा प्रदान गरेको र प्रधानमन्त्री कपले नेपाली क्रिकेटको मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री भण्डारीले खेल क्षेत्रमार्फत लगानी प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताउँदै सीमित सरकारी बजेट मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
“हामी छिट्टै प्रदेश स्तरमा रंगशाला निर्माण गर्नेछौं। खेल क्षेत्र सरकारको प्राथमिकतामा छ, र ‘एक पालिका, एक खेलमैदान’ नीति कार्यान्वयन गरिनेछ,” मन्त्री भण्डारीले भन्नुभयो। उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग यस विषयमा छलफल भइसकेको जानकारी दिँदै आगामी बजेटमा लुम्बिनी प्रदेशलाई खेलकुद हब बनाउने योजनासमेत समेटिने बताउनुभयो।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको छ। उद्घाटन खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भनी रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्