‘देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलकुद उपयुक्त माध्यम’
भक्तपुर । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले खेलकुद मानव जीवनका लागि आवश्यक रहेको बताउनुभएको छ ।
भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलकुद उपयुक्त माध्यम भएको बताउनुभयो ।

उहाँले खेलकुदको महत्वबारे प्रकाश पार्दै असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकुदको भूमिका उल्लेख्य रहने बताउनुभयो ।
जति बढी खेलाडी उत्पादन गर्न सक्यौँ त्यति नै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने उहाँको भनाई थियो ।
उपप्रधान एवम् सहरी विकास मन्त्री सिंहले खेलकुदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुचि भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिनुभयो ।
विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद आवश्यक छ भन्ने धारणा विकास हुँदै गएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकुदले अनुशासित बन्न सिकाउने बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद दुर्लभ थापा, प्रदेश सांसद सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापा लगायतले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्