टीकापुर साहित्य महोत्सव शुरु
कैलाली । कैलालीको टीकापुरमा शनिबारदेखि टीकापुर साहित्य महोत्सव शुरु भएको छ ।

साहित्य महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खडकाले साहित्यले समाजको कथा व्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताउनुभयो ।
प्रदेशका पूर्व मन्त्री डाक्टर रणबहादुर रावलले साहित्य सम्मेलनले यहाँको खस र थारु भाषा र पहिचानको प्रवद्र्धन हुने तथा साहित्यिक यात्रामा युवा पुस्ताको सहभागिता बढ्ने अपेक्षा गर्नुभयो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टी एन जोशीले प्रदशेका सबै जिल्लामा साहित्य र संस्कृतिको प्रसार गरिने बताउनुभयो ।
आयोजक संस्था टीकापुर साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहले रङहरूको मौसम फागुनमा देशभर नौ वटा साहित्यिक सम्मेलन भइरहेका र साहित्य पनि ग्लामर क्षेत्रको रुपमा विकास भइरहेको बताउनुभयो ।
२०७२ सालमा भएको हिंसात्मक घटनापछि टीकापुर सहर मानिसहरूको रोजाइमा पर्न छोडेको छ । नयाँ मानिस नआउने र पहिले बसेकाहरू पलायन हुँदा सहरी विकास हुन सकेको छैन । यही चिन्ताका बिच साहित्यमार्फत सामाजिक सद्भाव भन्ने नाराका साथ टीकापुर साहित्य महोत्सव भइरहेको छ ।
महोत्सवमा प्राध्यापक डाक्टर अभि सुवेदी, राजनीति शास्त्री हरि शर्माको प्रवचन हुनेछ । कार्यक्रममा लेखन, कविता, उपन्यास, विकास, संस्कृति आख्यान, कला नाटकका क्षेत्रमा १८ वटा सत्र चल्नेछन् । यसमा पहलमानसिंह स्वाँर साहित्य विशेष सत्र पनि रहेका छन् । फागुन २४ देखि २६ गतेसम्म १८ वटा सत्र चल्ने यो टीकापुर महोत्सवको दोस्रो संस्करण हो ।
महोत्सवको उद्घाटन सत्रमा टीकापुरको पहिलो आवासीय विद्यालय वीरेन्द्र विद्या मन्दिर माविका पूर्व प्राचार्य तथा साहित्यकार धनञ्जय तिमिल्सिना र पहिलो शिक्षक बलबहादुर रावललाई एक लाख राशिको खड्ग स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ ।
यस्तै ५० हजार राशिको टीकापुर साहित्य प्रतिभा पुरस्कार मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझा र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अमित चौधरीलाई २५ हजार राशिको जेहेन्दार विद्यार्थी पुरस्कार प्रदान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्