तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सिताराम रिजालको निधन

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । उहाँको आज दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिनु भएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित हुनुभयो । २०४१ सालतिर उहाँ परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सर्नु भयो ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो । तर झिनो मतान्तरले पराजित हुनुभयो । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनु भयो ।

उहाँकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । उहाँका छोराहरू हरिप्रसाद रिजाल, स्व. अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् । वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ । स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उहाँले पुर्‍याएको योगदानको स्मरण गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button