तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमै पुगेर नियमित स्वास्थ्य परीक्षणले अभिभावक हर्षित

सोलुखुम्बु। विद्यालयको पठनपाठन नियमित गर्न सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–२ ले वडा भित्रका सबै सामुदायिक विद्यालयहरूका करिब साढे चार सय विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्न थालेपछि अभिभावक हर्षित भएका छन्। 

अध्ययनरत विद्यालयमा नै स्वास्थ्य समस्या तथा विद्यार्थीहरूले भोग्दै आएको दाँतको समस्याको परीक्षण र उपचार हुन थालेपछि बच्चाको पढाइमा निरन्तरता हुन थालेको भन्दै अभिभावकहरू खुशी भएका हुन् । ‘बच्चालाई उपचारका लागि अस्पताल लैजाँदा विद्यालयमा पढाइ छुट्ने समस्या थियो, वडाको यो कार्यक्रमले धेरै सजिलो हुन्छ’ जुनवेसी माविका अभिभावक छिरिङ शेर्पाले भन्नुभयो ।

स्वास्थ्यकर्मीको टोली विद्यालयमै पुगेर प्रत्येक दुई दुई महिनामा नियमित स्वास्थ्य परीक्षण र प्रत्येक चार महिनामा दन्त परीक्षण सञ्चालन शुरु गरेको सोलुदूधकुण्ड नगरपालिका–२ का वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले जानकारी दिनुभयो। 

बालबालिका स्वस्थ हुन नसकेमा सिकाइ उपलब्धि पनि कमजोर हुने भएकाले यस्तो कार्यक्रम थालिएको अध्यक्ष शेर्पाले बताउनुभयो । जनताका आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ । ‘यसले प्रत्येक विद्यालयका विद्यार्थीको स्वास्थ्यमा सुधार हुनुका साथै विद्यार्थीको अध्ययनलाई निरन्तरताका लागि ठूलो टेवा पुग्ने उद्देश्यले परीक्षण तथा उपचार कार्यक्रम सुरु गरिएको हो ।’ उहाँले भन्नुभयो।

यस कार्यक्रमले विद्यार्थी तथा अभिभावकलाई ठूलो सहयोग पुगेको हिमालयन शेर्पा बुद्धिस्ट आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर बस्नेतले बताउनुभयो । बालबालिका बिरामी पर्दा पढाइ छोडेर अस्पताल लानुपर्ने र पढाइमा बाधा पुग्ने गरेको उहाँको भनाइ छ । 

निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण र उपचार गरी औषधि समेत वितरण गर्ने गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित रुपमा निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण सम्भवतः नेपालमै पहिलो कार्यक्रम भएको वडाको दाबी  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button