अलपत्र हुलाकी सडक निर्माणमा जिम्मेवार निकाय उदासिन,सरकारी निकायकै संरक्षण
नवलपरासी,पश्चिम् । लामो समय सम्म पनि हुलाकी सडकको कामले गति नलिएपछि पश्चिम् पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले सशक्त आन्दोलनको घोषणा गरेको छ। यसअघि पनि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित पालिका, प्रदेशका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयले अनशन र धर्ना दिए पनि सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति अनुसार काम नभएको भन्दै फागुन २६ गते हुलाकी सडक निर्देशनालय कपिलवस्तु घेराउ गर्ने र त्यसपछि स्थानीयसहित काठमाडौँ केन्द्रित आन्दोलन गर्ने उल्लेख गरेका छन् ।
भदौ २७ गते अनशनमा बसेका जनप्रतिनिधि, स्थानीय र राजनीतिक दलका प्रतिनिधिसँग ठेकेदारले असोज महिनाबाट काम सुरु गर्ने सहमति गरेपनि सहमति कार्यान्वयन नभएपछि थप आन्दोलन गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा सहित आमरण अनसनमा सहभागी भएर ऐक्यबद्धता जनाउनुभएको थियो ।

हुलाकी सडक निर्देशनालय अर्न्तगत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न भएको छैन । ठेकेदार कम्पनी ब्रजगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् । २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । खाल्डा खुल्डी र अलपत्र सडकले बर्खामा हिल्लाम्य र हिउँदमा धुलाम्य हुँदा नागरिकले निकै कष्ट खेप्दै आइरहेका छन् ।यो क्षेत्रका नागरिक आक्रोशित बन्न बाध्य छन् ।
हुलाकी सडक आयोजनाले झन्डै ४२ प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आइरहेको छ ।प्रतिनिधि सभा सदस्य सरिता भुसालले समेत यो हुलाकी मार्ग निर्माणमा भएको ढिलाइका बारेमा सदनमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।सडक निर्माणमा ठेकेदार पक्षलाई दबाब दिने हुलाकी सडक निर्देशनालय कपिलवस्तुले समेत उल्टै ठेकेदारको पक्षपोषण गरेको स्थानीयको आरोप छ ।केही दिन अघि रेडियो नेपाल सँगको कुराकानीमा हुलाकी सडक निर्देशनालय कपिलवस्तुले अब काम सुरु नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने बताएको थियो ।
प्रतिक्रिया राख्नुहोस्